बर्दियामा कोरोना परीक्षण गर्ने कीट अभाव हुँदै

पीसीआर तीनवटा र आरडीटी कीट २०० थान मात्र बाँकी

बर्दिया : छिमेकी मुलुक भारतसँग सीमा जोडिएको र कोरोना संक्रमणको उच्च जोखिममा रहेको बर्दिया जिल्लामा कोरोना परिक्षण गर्ने (भिटिएम) पिसिआर किटको अभाव हुन थालेको छ ।

जिल्लामा हाल कोरोना भाइरस परिक्षण गर्ने (भिटिएम) पिसिआर किट तीनवटा मात्रै बाँकी रहेको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोर्कण गिरीले जानकारी दिए । अहिले (भिटिएम) कीट अभावका कारण कोरोना परीक्षण नै रोकिएको त छैन, तर संकास्पद बिरामी आएमा कोरोना परिक्षण गर्नका लागि कीट अभाव हुने उनले बताए ।

यसअघि २५ जनाको (भिटिएम) कीट प्रयोगबाट कोरोना परिक्षण गरिएको थियो । जसमध्ये २३ जनाको नेगेटिभ रिपोर्ट आएको छ भने २ जनाको रिपोर्ट आउन बाँकी छ । छिमेकी मुलुक भारतबाट आएका र बैदेशिक रोजगारमा गएका अथवा विभिन्न जिल्लाबाट आएकाहरुमा केही लक्षण देखिएमा वा कोरोना आशंका भएमा कोरोना परिक्षण गर्ने भरपर्दो विधि (भिटिएम) पिसिआर कीट तीनवटा मात्रै स्टकमा हुँदा परिक्षणमा समस्या हुने देखिएको हो ।

‘पर्याप्त कीट नहुँदा परिक्षणमा समस्या देखिन सक्छ, संघीय सरकार र प्रदेश सरकारसँग पत्राचार गरिरहेका छौं, उपलव्ध हुने आश्वासन पाइएको पनि छ, तर अहिले भने निकै कम छ, तत्काल उपलब्ध हुन नभए समस्या पर्ने देखिएको छ,’ स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोर्कण गिरीले भने, ‘तत्कालका लागि संघीय सरकारसंग एक सय थान (भिटिएम) पिसिआर कीट माग गरिएको छ।’

Join Nadunudi News WhatsApp Group

आरडीटी कीट पनि २०० थान मात्र मौज्दात

र्‍यापिड डाइनेस्टिक टेष्ट (आरडीटी) कीट पनि जम्मा २०० थान मात्र मौज्दात रहेकाले यो पनि अपुग भएको गिरीले बताए । आरडीटी कीटबाट हालसम्म ३६४ जनाको परीक्षण भएकोमा सबैको नतिजा नेगेटिभ आएको छ । गिरीले भने, ‘अझै ७०० हाराहारीमा परीक्षण गर्नुपर्ने देखिन्छ, तर त्यो टेस्ट गर्न कीट कम छ ।’ संघीय र प्रदेश सरकारसंग पत्राचार गरेर पाँच हजार थान आरडीटी कीट माग गरिएको बताइएको छ । बर्दियामा चैत्र महिनापछि जिल्ला प्रवेश गरेका सबैको आरडीटी परीक्षण गरिने भनिएपनि कीटको अभावले यो लक्ष्य पूरा नहुने देखिएको हो ।

बर्दियाका आठवटै पालिकाका विभिन्न क्वारेन्टीनस्थलमा सोमबारसम्म एक हजार एक सय जना रहेका छन् । जसमध्ये आइसोलेसनमा दुई जना राखिएको छ । बर्दिया अस्पतालमा रहेका दई जनाकै स्वाब परिक्षण गर्न भेरी अस्पताल नेपालगञ्‍ज पठाइएको छ ।

स्वास्थ्यकर्मीका लागि आवश्यक सुरक्षा सामाग्री पनि अभाव

स्वास्थ्यकर्मीका लागि आवश्यक सुरक्षा कवज पीपीई, सेनिटाइजर, मास्क, ग्लोब्स, ज्वरो नाप्ने थर्मल गन जस्ता उपकरणहरु पनि जिल्ला अस्पतालसंगै बर्दियाका आठवटै पालिकामा पर्‍याप्त मात्रामा नरहेको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोर्कण गिरीले बताए । कोरेन्टीनस्थलमा रहेका सबैको र्‍यापिड टेष्ट गर्नुपर्ने भएकाले र बाहिरी जिल्लाबाट क्वारेन्टीनस्थलमा आउने क्रम बढ्दै गएकाले किट लगायतका अत्यावश्यक सामग्री अभाव हुँदै गएको जिल्ला स्वास्थय कार्यालय बर्दियाका जनस्वास्थ्य निरिक्षक कृष्ण गोपाल चौधरीले जानकारी दिए ।

Join Nadunudi News WhatsApp Group