पढ्दै, तरकारी फलाउँदै विद्यार्थी

बर्दिया : त्रिभुवन माध्यमिक विद्यालय भुरिगाउँका कक्षा ८ मा पढ्ने अमन थारु सहित ७ जना विद्यार्थीको साप्ताहिक जिम्मेवारी छ, च्याउमा पार्ने, चार्ने । विद्यालय सुरु हुना साथ अरु विद्यार्थी पिटी प्रार्थनामा जान्छन् । अमनको टिम भने बाल्टीमा पानी र हजारी बोकेर च्याउखेती गरिएको कोठामा छिर्छन् । च्याउमा आवश्यक्ता अनुसार पानी हाल्छन् । अनी हातखुट्टा धोएर कक्षा कोठामा पस्छन् ।

यसैगरि कक्षा ८ कै कल्पना रिजाल सहित ७ जनाको टिमको करेसाबारीको रेखदेख गर्ने जिम्मेवारी छ । कल्पनाको टिमले मध्यान्तरको समयमा एक सातासम्म करेसाबारीमा गोडमेल गर्ने, सिँचाइ गर्ने गर्छन् । करेसावारीमा कक्षा ८ का विद्यार्थीले बन्दागोभी, फुलगोभी, धनिया, लसुन, केराउँ र साग लगाएका छन् । कक्षा ८ का सबै विद्यार्थीलाई करेसाबारीमा काम गर्न फरकफरक समय र काम छुट्याइएको छ । आआफनो जिम्मेवारी सबैले निर्वाह गर्छन् ।

विद्यालयले उनीहरुलाई काममा दलाउन यसो गरेको भने होइन । आधारभूत तह कक्षा ६–८ मा रहेको पेसा, व्यवसाय र प्रविधि शिक्षाको प्रयोगात्मक पाठ्यभार पुरा गर्न तरकारी खेती गराएको हो । कक्षा ८ को पेसा, व्यवसाय र प्रविधि शिक्षामा अन्य विषयबस्तुसँगै तरकारी खेती भन्ने एकाइमा ११ वटा पाठ तरकारी खेतीसँग मात्र सम्बन्धित छ ।

यसमा च्याउखेतीदेखि लिएर गँड्यौला खेतीसम्मका सैद्धान्तिक विषय बस्तु छन् । यिनै विषय बस्तुका बारेमा प्रयोगात्मक ज्ञान दिन तरकारी खेती गरिएको त्रिभुवन माध्यमिक विद्यालयमा पेसा, व्यवसाय पढाउने महिला शिक्षक यमकला पौडेलले बताइन् । शिक्षक पौडेल भन्छिन्, ‘सैद्धान्तिक कुरा कक्षाकोठामा सिकाइन्छ । सैद्धान्तिक विषयबस्तुलाई व्यवहारमा उर्तान सक्ने बनाउन करेसाबारीमा लगेर प्रयोगात्मक कार्य गराउँछै । ’ प्रयोगात्मक कार्य गराउँदा विद्यार्थीहरुमा छिटै सिप विकास हुने गरेको उनले बताइन् ।

कक्षा ८ का विद्यार्थीले विद्यालयमा ४० पोकामा च्याउखेती गरेका छन् । विद्यार्थीहरुले च्याउखेतीका लागि पराल काट्ने, पखाल्ने, बफाउँने, प्लाष्टिकमा पोका पार्नेलगाएतका सबै काम आफै गरेको शिक्षक पौडेलले बताइन् । मंसिरको दोस्रोसातादेखि सुरु गरिएको च्याउँखेतीबाट अहिले धमाधम च्याउ उत्पादन भइरहेको छ । उत्पादन गरेको च्याउ यतीखेर विद्यार्थी आफैले विक्रि गरिरहेका छन् । विक्रिको हिसावकिताब पनि उनीहरुले नै राख्ने गरेका छन् । यस कामबाट विद्यार्थीहरुलाई बस्तु उत्पादनको सीपदेखि लिएर विक्रि वितरणसम्मको सिप विकास भएको विद्यालयका शिक्षक प्रदीप भण्डारी बताउँछन् ।

Join Nadunudi News WhatsApp Group

आफुहरुले उत्पादन गरेको च्याउ विद्यालयका शिक्षक स्टाफ, विद्यालय वरपरका मानिस र विद्यार्थीहरुमै खपत हुने गरेको कक्षा ८ का विद्यार्थी शेरबहादुर बुढाले बताए । विद्यार्थीहरुलाई च्याउखेतीका लागि ठाकुरबाबा नगरपालिकाको कृषि शाखाले विउ उपलब्ध गराएको हो । अहिले सातामा करिव १० देखि १५ केजीसम्म च्याउ उत्पादन भइरहेको विद्यार्थीहरुले बताएका छन् । हालसम्म करिव ५० किलो च्याउ विक्रि गरेको उनीहरुले बताए । विद्यार्थीहरुलाई प्रतिकेजी १ सय ५० र अन्यलाई १ सय ८० रुपैँया मुल्य कायम गरेर विद्यार्थीहरुले च्याउ विक्रि गरिरहेका छन् ।

च्याउसँगै करेसाबारीमा बन्दागाृभी र फुलगोभी पनि तयार हुने अवस्थामा छन् । भने कक्षा ७ का विद्यार्थीहरुले प्याज खेती गर्ने तरखर गर्दै छन् । कक्षा ८ को पेसा, व्यवसाय र प्रविधि शिक्षामा ५० अंक सैद्धान्तिक र ५० अंक प्रयोगात्मक कक्षा छुट्याइएको छ । हचुवाका भरमा प्रयोगात्मक अंक दिने परिपाटीलाई अन्त्य गर्न प्रयोगात्मक कक्षालाई अनिवार्य गरिएको विद्यालयका प्रधानाध्यापक कुशेश्वरप्रसाद चौधरीले बताए । पेसागत शिक्षाका साथै प्रविधि शिक्षामा पनि प्रयोगात्मक कार्यलाई जोड दिने गरेको प्रधानाध्यापक चौधरीले बताए ।

Join Nadunudi News WhatsApp Group