हात्तीपाईले विरुद्ध जानकारी दिदै स्थानिय तह

बर्दिया : बर्दियामा ८ वर्ष सम्म पनि हात्तीपाइले रोग निर्मूल नभएपछि यस बर्ष भने हात्तीपाईले विरुद्धको औषधी नछुटाई सेवन गर्न स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् । यस बर्ष सुरु गर्न लागिएको आम औषधी सेवन अभियानमा अनिवार्य रुपमा सहभागी भएर औषधी सेवन गर्न स्वास्थ्यकर्महरुले आग्रह गरेका हुन ।

वर्षको एक मात्रा औषधी सेवनले पनि हात्तीपाईले हुनबाट बचाउन सक्ने भएकाले नछुटाईकन औषधी सेवन गर्न आग्रह गरिएको ठाकुरबाबा नगरपालिकाका स्वास्थ्य शाखा संयोजक ईन्द्रबहादुर राजबंशीले बताए । बर्दियामा यस वर्ष नवौं पटक हात्तीपाईले विरुद्धको औषधी खुवाईंदैछ । सरकारले २०६७ सालदेखि बर्दियामा हात्तीपाइले रोगविरुद्धको औषधी खुवाउँदै आएको छ । यो बर्ष पनि माघ २५ देखि २७ गतेसम्म हात्तीपाइलेको औषधी खुवाउन लागिएको हो ।

औषधी सेवन अभियानमा समस्या नआउने गरि ३ दिन पहिले नै अर्थात माघ २२ गते भित्र सबै स्थानिय तहमा औषधी पुर्याईसक्ने जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका जनस्वास्थ्य निरीक्षक कृष्ण गोपाल चौधरीले बताए । क्युलेक्स जातको लामखुट्टेको टोकाइबाट सर्ने हात्तीपाइले रोग उच्चेरिया ब्याङक्रफ्टी नामक परजीवीका कारण लाग्ने गर्छ । ‘हात्तीपाइले भएका व्यक्तिका शरीरमा विभिन्न भाग सुन्निने मोटो हुने, अण्डकोष, योनिको भाग बढ्नेलगायत लक्षण देखिन्छन,’ जनस्वास्थय निरीक्षक चौधरीले भने ।

४ लाख ४५ हजारलाई औषधि खुवाउने लक्ष्य
यस वर्ष बर्दियामा ४ लाख ४५ हजार ५ सय ३१ जनालाई औषधि खुवाउने लक्ष्य लिइएको छ । जसका लागि ४ सय स्वास्थ्यकर्मी र ८ सय ४१ जना स्वास्थ्य स्वयंसेविका परिचालित छन् ।

अभियानमा प्रत्यक बर्ष करोडौं लगानी गरिए पनि औषधि सेवनको महत्त्वबारे स्थानिय टाठाबाठाले नै नबुझीदिदा र उचित प्रचारप्रसार हुन नसक्दा हात्तीपाइले रोगविरुद्ध औषधि खुवाउने अभियान लक्ष्यमा पुग्न नसकेको जनस्वास्थ्य निरीक्षक चौधरीको भनाई छ ।

Join Nadunudi News WhatsApp Group

यस बर्ष पहिलो दिन तोकिएका स्वास्थ्य बुथ तथा दोस्रो र तेस्रो दिनमा घर, घरै गएर औषधी खुवाइने जिल्ला स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ । लगातार ६ बर्षसम्म औषधी सेवन गर्नुुपर्ने भनिएपनि बर्दियामा भने परिक्षणका क्रममा अझै उक्त रोगको परजीवी भेटिएकाले नवौं बर्षमा पनि औषधी खुवाइँदैछ ।

हात्तीपाईले विरुद्ध जानकारी दिदै स्थानिय तह
बर्दियाको गुलरिया, मधुवन, राजापुर, ठाकुरबाबा, बारबर्दिया, बाँसगढी नगरपालिका तथा गेरुवा र बढैयाताल गाउँपालिका गरी ८ वटै पालिकामा माघ २५ गतेदेखि नवौं चरणको हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान सुरु गरिँदै छ ।

८ वटै स्थानिय तहले गाउँ घरमै पुगेर हात्तीपाईले रोगका बारेमा जानकारी गराईरहेका छन् । हात्तीपाईले भईसकेपछि निको हुने सम्भावना नभएकाले रोग लाग्नबाटै बचौँ भन्दै गाउँटोलमै स्वास्थ्कर्मीहरु खटाएर सचेतना दिन थालिएको ठाकुरबााब नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले बताए ।

स्थानिय टाठाबाठा तथा बुझेका व्यक्तीहरु नै औषधी सेवन गर्न आनाकानी गरिरहेको स्थास्थ्यकर्मीहरु बताउछन् । हरेक वडामा तथा हरेक टोलमा कुन घरको ब्यक्तीले औषधी सवेन गरेन भनी अभिलेख राखेमा आगामी बर्ष सजिलो हुने बताईएको छ ।

ठाकुरबाबा नगरपालिकाका ९ वटै वडामा हात्र्तीपाईले रोगको औषधी सेवन बारे सचेतनाका कार्यक्रम सञ्चालन भईरहेका छन् । हात्तीपाईले सम्बन्धी सुरु गर्न लागीएको आम औषधी सेवन अभियान सफल पार्न आईतबार जिल्ला समन्वय समितीको बैठक समेत सम्पन्न भएको छ ।

गत बर्ष ६२ जना हात्तीपाईलेका बिरामी भेटिएको तथ्यांक
गत बर्ष बर्दियामा ६२ जनामा हात्तीपाईले भेटिएको जिल्ला स्वास्थ्य कार्यालय बर्दियाको तथ्यांक छ । हात्तीपाईले परिक्षणका क्रममा उक्त रोगको परजीवी १ प्रतिशतभन्दा तल झारेमा मात्रै अभियान सम्पन्न भएको मानिन्छ ।

सन २०२० सम्ममा विश्वबाटै हात्तीपाईले निवारण गरिसक्ने लक्ष्य राखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयले औषधी सेवन गरी यो अभियान सफल पार्न निर्धक्क भई औषधी सेवन गर्न जिल्लावासीलाई आग्रह गरेको छ ।

२०७३ मा बर्दियाका दुई ठाउँमा हात्तीपाईले रोगको अनुसन्धान परीक्षण गरिएको थियो । ठाकुरबाबा नगरपालिकाको डुम्रेनीमा परीक्षण गर्दा १५ जनामा हात्तीपाईले संक्रमण देखिएको थियो भने बैदाबैदिमा ३७ जना संक्रमित भेटिएका थिए । २०७५ मा परिक्षण गर्दा पनि डुम्रेनीमा १० जनामा तथा बैदीमा १७ जनामा हात्तीपाईलेको परजीवी भेटिएको थियो ।

सामाजिक तथा धार्मिक मूल्य मान्यता, प्रत्यक्ष निगरानीमा औषधी सेवन गराउन कठिन, संघ, प्रदेश र स्थानीय तहबीच समन्वय अभाव लगायतका चुनौतीहरु कायमै रहेकाले रोग पूर्ण रुपमा निर्मूल पार्न सकिएको छैन ।

Join Nadunudi News WhatsApp Group