के इटालीको सडकमा नोट फ्याँकिएको हो ?

नपत्याउनुस्, इटालीका सडकमा नोट फ्याँकिएका छैनन्

सामाजिक सञ्जालमा अहिले एउटा फोटो निकै भाइरल भइरहेको छ । फोटोमा सडकभरी नोट फ्याँकिएको देखिन्छ । सँगै लेखिएको छ, इटालीमा मान्छेहरुले सडकमा आफ्ना रुपैयाँ फाले । स्वास्थ्य नै खतरामा परेको बेला पैसाको काम छैन भन्ने सन्देश विश्वमा दिने दावी त्यसमा गरिएको छ । के यी फोटोहरुमा जस्तै साँच्चिकै इटालीका मान्छेहरुले कोरोना संकटका कारण सडकमा नोट फ्याँकेका हुन् त ? हामीले फ्याक्टचेक गर्ने क्रममा भेटेका तथ्य यस्ता छन् ।

यो पोस्टको आधिकारिकता थाहा पाउन हामीले यी फोटोको स्रोत खोज्यौँ। यी फोटोहरु सन् २०१९ को मार्चरअप्रिल महिनामा पनि एक पटक भाइरल भएको रहेछ । त्यतिबेला भने यी नोटहरु भेनेजुएलाको सडकमा फ्याँकिएको दावी गरिएको थियो । समाजवादी व्यवस्थाका कारण यसो भएको दावी त्यो पोस्टमा थियो ।

स्नुप्सले यो विषयमा त्यतिबेला नै फ्याक्टचेक गरेको थियो। त्यसमा दिइएको जानकारी अनुसार यो फोटो भेनेजुएलाकै हो । तर त्यसको क्याप्सन भने गलत राखिएको छ। अर्थात् सही फोटो, भ्रम पार्ने गलत क्याप्सन ।

खासमा अहिले इटालीको भन्दै भाइरल बनाइएको फोटो मार्च ११, २०१९ मा खिचिएको रहेछ । त्यो दिन हुड लगाएका तीन जनाले भेनेजुएलाको बाइसेन्टेनियल बैँक लुटेका थिए । उनीहरुले नै पुराना नोटहरुलाई त्यसरी सडकमा फ्याँकेका थिए । स्थानीय वेबसाइट मदुरादासमा त्यतिबेला अरु फोटोहरुसहित समाचारै राखिएको छ ।

Join Nadunudi News WhatsApp Group

ट्विटरमा पनि फोटोहरु आएका छन्

भाइरल भएको फोटो इटालीको नभएर भेनेजुएलामा बैँक लुट्नेहरुले फ्याँकेका हुन् । किनभने ती नोटहरु पुराना भएकाले काम लाग्ने थिएनन् । काम नलाग्ने भएकैले अरुले पनि ती नोटहरु सडकबाट उठाएनन् ।

तपाईँ हामीले के गर्न सक्छौँ ?

यस्ता धेरै गलत सूचना अहिले फैलिरहेका छन् । यो पनि कोरोना भाइरस जस्तै संक्रमण हो । सूचना संक्रमण, इन्फोडेमिक, जसरी कोरोना फैलिन नदिन हात धुनुपर्छ, त्यसैगरी यस्तो सूचना संक्रमण फैलन नदिन पनि तपाईँ आफै जागरुक हुनुपर्छ । यस्ता समाचार तपाईँको मेसेन्जरमा आयो भने अरुलाई फरवार्ड गर्ने काम गर्नुहुन्न । बरु यस्तो हावा कुरा नपठाउ भनेर पठाउनेलाई भन्नुपर्छ ।

फेसबुकमा यस्ता गलत लाग्ने, शंकास्पद समाचार वा लिङ्कहरु भेटिएमा त्यसलाई सेयर, लाइक वा कमेन्ट नगर्नुहोला । तपाईँले त्यसो गर्नुभयो भने यस्ता गलत कुरा अझ फैलन सक्छ । एकदमै विश्वास लाग्ने स्रोतहरुबाट मात्र जानकारी लिनुस् । माइसंसारको सहयोगमा

Join Nadunudi News WhatsApp Group